जनकपुरधाम।आज (बुधबार) जनकपुरधाममा राजा आउ देश बचाउ नारा लगाउदै राजावादीहरुले शक्ति प्रदर्शन गरेको छ। आज जनकपुरधाममा राजाबादी विशाल मोटर साइकल जुलुश निकालेका छन्। नेपाललाई हिन्दू राष्ट्र कायम गर्न र २०४७ सालको संविधान पुनर्वहाली गर्न माग गर्दै ‘नेपाल राष्ट्रवादी समूह’ धनुषाले जनकपुरधाममा मोटर साइकल जुलुश निकालेको हो।
राष्ट्रिय झण्डा बोकेर दर्जनौं व्यक्तिको सहभागितामा समूहले जनकपुरधाममा निकालेको जुलुशले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो।
सहभागीले पूर्व राजाको पक्षमा नारावाजी गरेका थिए । जुलुशमा ‘नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर’, ‘२०४७ सालको संविधान पुनर्वहाली गर’, ‘राजतन्त्र पुनर्वहाली गर’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नारा लगाएका थिए ।
स्थानीय रेल्वे स्टेशनबाट निस्केको जुलुश भानुचोक, कदमचोक, विद्यापति चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाईल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, थापाचोक, मुख्यमन्त्री कार्यालय, मिल्स एरिया, भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
यसअघि हालसालै यस्ता प्रदर्शन पोखरा, भैरहवा, धनगढी लगायतका सहरमा भइसकेका छन्।
Discussion about this post