काठमाडौं ।यस वर्ष असोज २ गते शुक्रबारबाट ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउने गर्छ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।
महिनामा दुई वटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् ।
असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले जानकारी दिए ।
क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्ने गर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघमा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी ८ महिनामा अधिकमास पर्न सक्छ ।
क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् ।
मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरेका छन् । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख छ ।
मलमासमा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम रहेको छ ।
मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।
नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
मच्छेनारायण मेला
रत्नपार्कबाट करिब ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासमा १ महिना लामो मेला लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको छ ।
मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेकामा यस वर्ष चन्द्रागिरि नगरपालिकाले मेला नगर्ने निर्णय गरेको छ ।
मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम माहात्म्य वाचन हुने गरेकामा यस वर्ष घरघरमै मच्छेनारायण पूजा एवं पुरुषोत्तममास माहात्म्य वाचन गर्न नगरपालिकाले अनुरोध गरेको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।
भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ ।
चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्ष लगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । मत्स्यनारायण नाम भए पनि जनजीवनमा शब्दको प्रयोग गर्दा अपभ्रंश भई मच्छेनारायण भन्ने गरिएको छ ।
वेदको रक्षा गर्न मत्स्यरुपमा भगवान् विष्णु
मत्स्य अवतारका विषयमा प्रचलित किम्बदन्ती यस्तो छ । प्राचीन कालमा सत्यव्रत नाम गरेका राजाले नदीमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् ।
सानो माछाले आफ्नो रक्षार्थ बिन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका थिए । कमण्डलुमा माछा अटाएन । माछालाई क्रमशः तलाउ अनि समुन्द्रमा राख्दा आकार बढ्दै गएको गयो । राजाले भगवान् विष्णुको अवतार बुझेर मत्स्य अवतारको पूजा गरे ।
पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो डुङ्गामा बीउबिजनसहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा विभिन्न पुराणमा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदलाई चोरेर समुद्रमा लुकाएको थियो । भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदको पनि उदार गरेको विश्वास गरिन्छ ।
यस वर्ष पितृपक्ष सकिएर दुर्गापक्ष शुरु हुने औँसीदेखि नै मलमास लाग्ने भएकाले नेपालीको महान् चाड बडादशैँ एवं तिहार एक महिना ढिला हुने भएको छ । असोज ३० गते मलमास सकिएपछि कात्तिक १ गते घटस्थापना गरी दशैँ शुरु हुनेछ । मलमासका कारण दशैँपछिका सबै चाडवाड ढिला हुनेछन् ।
यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो । असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो । १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ ।
असोज महिनामा पर्ने मलमासमा दक्षिणी देशमा सङ्घर्ष हुने ज्योतिषशास्त्रको ग्रन्थ संवत्सर संहितामा उल्लेख गरिएको ज्योतिषी पोखरेलले जानकारी दिए । मलमासमा विशेष गरी भगवान् पुरुषोत्तमको पूजा आराधना गरी मालपुवा दान गरे पुण्य मिल्ने धार्मिक विश्वास छ ।
देशसञ्चार
Discussion about this post