काठमाडौँ/भदौ १८ गते । पटकथा लेखन तथा फोटोमार्फत आफ्ना अनुभव, समुदाय र सामाजिक विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गर्न रुचि राख्ने युवाहरूका लागि पटकथा लेखन र फोटो कथाकारिता तालिमको अवसर खुलेको छ।
‘परिवर्तनका आवाजहरू’ परियोजनाअन्तर्गत पटकथा लेखन र फोटो कथाकारितासम्बन्धी दुईवटा कार्यशाला आयोजना हुन लागेको हो। युरोपियन युनियनको सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत हुने दुवै कार्यशालाको सञ्चालन शान्ता फाउन्डेशनले गर्नेछ। परियोजनाको नेतृत्व एफसीए नेपालले गरिरहेको छ भने दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स परियोजनाको साझेदार संस्थाका रूपमा रहेको छ।
परियोजनाले विशेषगरी दलित, महिला तथा अन्य सीमान्तकृत समुदायका युवाहरूलाई सिर्जनात्मक र सांस्कृतिक क्षेत्रमा आफ्नो क्षमता विकास गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
१० दिने अनलाइन पटकथा लेखन कार्यशाला
पटकथा लेखन कार्यशाला १० दिने अनलाइन कार्यक्रमका रूपमा सञ्चालन हुनेछ। कार्यशालामा सहभागीहरूले व्यक्तिगत अनुभव, समुदायका कथा तथा सामाजिक विषयलाई प्रभावकारी पटकथा र डिजिटल सामग्रीमा रूपान्तरण गर्ने सीप सिक्नेछन्।
युट्युब, फेसबुक, इन्स्टाग्राम तथा पोडकास्टलगायत डिजिटल माध्यमका लागि सामग्री विकास, व्यक्तिगत पहिचान निर्माण, डिजिटल बजार प्रवद्र्धन, दर्शक विस्तार तथा सिर्जनात्मक कामबाट आयआर्जनका सम्भावनाबारे समेत सहभागीलाई जानकारी तथा अभ्यास गराइने आयोजकले जनाएको छ।
कार्यशालाको अन्त्यमा प्रत्येक सहभागीले कम्तीमा एउटा मौलिक पटकथा तयार गर्नेछन्।
पाँच दिने फोटो कथाकारिता कार्यशाला
त्यस्तै, फोटो कथाकारिता कार्यशाला पाँच दिने प्रत्यक्ष सहभागितामा आधारित हुनेछ। कार्यशालामा फोटोग्राफीका आधारभूत सीपसँगै दृश्य कथावाचन, दृश्य संरचना, प्रकाश व्यवस्था, दृश्य संयोजन, फोटो फिचर, तस्बिरको विवरण लेखन तथा नैतिक दृश्य कथावाचनका विषयमा प्रशिक्षण दिइनेछ।
सहभागीहरूले आफ्नो समुदाय, संस्कृति तथा सामाजिक विषयलाई तस्बिरमार्फत अभिव्यक्त गर्ने र त्यसलाई व्यावसायिक अवसरसँग जोड्ने विषयमा समेत अभ्यास गर्नेछन्। कार्यशालाको अन्त्यमा सहभागीहरूले एउटा फोटो कथा वा फोटो फिचर तयार गर्नेछन्।
१८ देखि ३५ वर्षका युवाले आवेदन दिन सक्ने
दुवै कार्यशाला १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूका लागि लक्षित गरिएको छ। तालिममा सहभागी हुन पूर्व अनुभव आवश्यक नरहेको आयोजकले जनाएको छ। सिक्ने इच्छा, सिर्जनात्मक सोच र सक्रिय सहभागिताको प्रतिबद्धता भए पुग्नेछ।
महिला, दलित, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, ग्रामीण तथा अन्य सीमान्तकृत समुदायका युवाहरूलाई विशेष प्राथमिकताका साथ आवेदन दिन प्रोत्साहित गरिएको छ।
पटकथा लेखन र फोटो कथाकारिता दुवै कार्यशालाका लागि आवेदन खुला गरिएको छ। इच्छुक युवाहरूले २०८३ भदौ २१ गतेसम्म सम्बन्धित आवेदन फारममार्फत आवेदन दिन सक्नेछन्।
आयोजकका अनुसार कार्यशालाले युवाहरूलाई आफ्ना कथा आफैं भन्न, समुदायका आवाजलाई दृश्य तथा डिजिटल माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्न र सिर्जनात्मक क्षेत्रलाई सम्भावित पेसा तथा आयआर्जनको माध्यमका रूपमा अघि बढाउन आवश्यक सीप र अवसर प्रदान गर्नेछ।
पटकथा लेखन कार्यशाला फारमः https://forms.gle/3nXWBzJQgAcyc2DS8
फोटो कथाकारिता कार्यशाला फारमः https://forms.gle/RLSc8rmTa5CcAXwD8
थप जानकारीका लागिः https://shantanepalifoundation.com/home/opportunities/















Discussion about this post