काठमाडौं/भदौ १५ गते । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता भएका छन्।
शिक्षा मन्त्रालयका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालयहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
कम्तीमा नौवटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने सातवटामा आंशिक क्षति पुगेको छ। साथै, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू बेपत्ता भएको खबर प्राप्त भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको पछिल्लो विवरणअनुसार २०० भन्दा बढी विद्यार्थी बेपत्ता छन् भने करिब २० जनालाई बाढीले बगाएको छ।
गम्भीर रूपमा क्षति पुगेका अधिकांश विद्यालयहरू रसुवा र नुवाकोट जिल्लामा पर्छन्। यी दुई जिल्लाका धेरै विद्यालयहरू, जहाँ कुल २ हजार ४२५ विद्यार्थी अध्ययनरत थिए, बाढीको चपेटामा परेका वा पुरिएका छन्। एउटा विद्यालयले आफ्ना विद्यार्थीहरू सवार बस बाढीले बगाएको जानकारी दिएको छ।
उता, उत्तरी नेपालमा आएको विनाशकारी आकस्मिक बाढीका कारण दुई दिनसम्म विद्यालयमै फसेका नौ जना बालबालिका आफ्ना परिवारसँग पुनर्मिलन भएका छन्। विद्यालयबाट हिँडेर ती बालबालिका सेभ द चिल्ड्रेनले काम गरिरहेको राहत वितरण केन्द्रमा आइपुगेका थिए।
शिक्षा मन्त्रालयले १९ वटा भने पनि सेभ द चिल्ड्रेनले भने उत्तरी नेपालका बाढी प्रभावित जिल्लाहरूमा कम्तीमा ६९ वटा विद्यालयहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन्, जसले गर्दा करिब १९ हजार बालबालिकाको शिक्षा जोखिममा परेको जनाएको छ।
नुवाकोटमा कार्यरत सेभ द चिल्ड्रेनका कर्मचारीहरूका अनुसार विपद्बाट प्रभावित समुदायका बालबालिकाहरू आफूसँग बाँकी रहेका थोरै सामानहरू जोगाएर राख्दै छन् वा विद्यालयका किताब र पोसाक लगायतका गुमेका सामानहरू खोजिरहेका छन्।















Discussion about this post