वीरगन्ज/भदौ १३ गते। रसुवा र नुवाकोट लगायतका जिल्लामा बाढी-पहिरोबाट प्रभावित भएका नागरिकको सहायताका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
शुक्रबार साँझ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन्।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएपछि पीडितहरूको उद्धार र राहतका लागि सहयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ।
अध्यक्ष अन्सारीले विपद्को यो समयमा राज्यसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकले पनि आ-आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए। “वीरगन्जबाट सोचेजस्तो राहत रकम जम्मा हुन सकेको छैन। अरूलाई पनि सहयोग गर्न प्रेरणा मिलोस् भनेर औपचारिक रूपमा रकम हस्तान्तरण गरेका हौँ,” उनले भने, “उद्योग-व्यवसायको सहर वीरगन्जबाट कोषमा अझै धेरै सहयोग रकम जुट्ने आशा छ।”
अस्पताल प्रमुख अन्सारीले प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे। साथै आगामी दिनमा पनि विपद्मा परेका नागरिकको उपचार तथा मानवीय सेवाका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै सांसद हरि पन्तले विपद्को घडीमा वीरगन्ज हेल्थ केयर अस्पतालले गरेको सहयोग सराहनीय रहेको बताए। प्रधानमन्त्री राहत कोषमा वीरगन्जका अन्य व्यवसायी तथा संघसंस्थाहरूलाई पनि यथाशक्य सहयोग गर्न उनले आग्रह गरे।















Discussion about this post