काठमाडौं/असार २९ गते। मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिनजको कार्यालय गेटमै बेवारिसे कार छाडेर आवतजावतमा अवरोध गरे पछि महासंघले सो घटना बारे जानकारी दिन मागसमेत गरिएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति निकाल्दै तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग माग गरेका छन् ।
सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने यो घटना निन्दनीय र रहस्यमय भएको भन्दै महासंघले तत्काल छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ । ती गाडी हटाउन महासंघले सुरक्षा निकायसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।














Discussion about this post