जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले वर्तमान अन्तरिम सरकार चुनाव गराउने पक्षमा नरहेको आरोप लगाएका छन्। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तरिम सरकारले चुनावको वातावरण बनाउनुको साटो सत्ता राजनीति र पद बाँडफाँडमा समय खर्चिरहेको बताए।
उपमहासचिव महासेठले अन्तरिम सरकारका मन्त्रीहरू दल खोल्ने, प्रधानमन्त्री र मन्त्रीको भागबन्डामा व्यस्त रहेकाले फागुन २१ गते चुनाव हुनेमा आफूलाई विश्वास नलागेको बताए। सरकार साँच्चिकै चुनावप्रति इमानदार भए दलगत गतिविधिमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने उनको भनाइ थियो।
उनले नेपालमा विगतमा बनेका अन्तरिम सरकारहरू तुलनात्मक रूपमा सफल भए पनि वर्तमान अन्तरिम सरकार सफल हुने सम्भावना नदेखिएको बताए। गैरसंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको उल्लेख गर्दै महासेठले प्रतिनिधिसभाको पुनःस्थापना अनिवार्य रहेको धारणा राखे।
जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन गरी प्रतिनिधिसभा विघटन गर्नु गैरकानुनी भएको उनको आरोप थियो। तथापि, एमाले चुनाव विरोधी वा चुनावबाट डराउने शक्ति नभएको स्पष्ट पारे। “सर्वोच्च अदालतबाट होस् वा कुनै संवैधानिक विधिबाट होस्, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ,” उनले भने, “त्यसपछि संसदभित्रबाटै सर्वदलीय सरकार गठन गरी सोही सरकारले चुनाव गराउनुपर्छ।”
महासेठले यदि सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना नभए पनि एमाले चुनावमा जाने र त्यसका लागि आन्तरिक तयारी अघि बढाउन कार्यकर्ताहरूलाई निर्देशन दिएको बताए।
अर्को प्रसंगमा उनले गणतन्त्र विरोधी शक्ति, कम्युनिष्ट सरकार नरुचाउने तथा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारको लोकप्रियता सहन नसक्ने शक्तिहरूले जेनजीको नाममा गत भदौ २३ र २४ गते विध्वंस मच्चाएको आरोप लगाए।









Discussion about this post