गिरिजानन्द साह/जेठ २९ गते। मानव तस्करीको जोखिममा परेका पाँच जना नेपाली नागरिकलाई भारतको बिहार राज्यबाट उद्दार गरी नेपाल फर्काइएको छ। माईती नेपालको सक्रिय पहलमा २०८२ जेठ २८ गते (जुन १० तारिख) भारतको बिहार राज्य अन्तर्गत सारंग जिल्लाको छपारा थानाबाट ४ जना युवती र १ जना युवकलाई उद्धार गरिएको हो।
उद्धारपछि उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपाल ल्याइएको हो। आज माईती नेपाल धनुषा शाखाले उद्दार गरिएका सबै ५ जनालाई सुरक्षित रुपमा परिवारको जिम्मा लगाएको छ। उद्दार गरिएकामध्ये ४ जना सप्तरी जिल्लाका र १ जना सिरहा जिल्लाका हुन्।

माईती नेपालले विभिन्न स्रोत र सूचनाको आधारमा ती व्यक्तिहरू भारतमा जोखिममा रहेको जानकारी पाएपछि छपारा थाना र भारतको सम्बन्धित निकायसँग समन्वय गरेर उद्दार प्रक्रिया अघि बढाएको थियो। उद्धार गरिएकाहरूलाई पहिलो चरणमा भारतमै सुरक्षित आवासमा राखिएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपालको सीमामा ल्याइएको र माईती नेपाल धनुषाको सहयोगमा सम्बन्धित जिल्ला पुर्याइएको हो।
उद्धारपछि पीडितहरूलाई मनोसामाजिक परामर्श, स्वास्थ्य परीक्षण, आवास तथा संरक्षण प्रदान गरिएको थियो। सबै आवश्यक प्रक्रिया पुरा गरेपछि उनीहरूलाई आज उनीहरूको आफ्नै अभिभावक वा जिम्मेवार पारिवारिक सदस्यको जिम्मा लगाइएको माईती नेपाल धनुषाका संयोजक पुरुसोत्तम यादवले बताए
माईती नेपालका अनुसार पछिल्लो समय मानव तस्करी तथा जबर्जस्ती श्रमशोषणको घटनामा वृद्धि भएकाले भारत र नेपालबीचको खुला सीमालाई ध्यानमा राख्दै निगरानी तथा उद्धार कार्यमा अझ सक्रियता बढाइएको छ। “हामीले उद्धारमात्र होइन, पीडितको पुनःस्थापना र भविष्यमा जोखिम न्यूनिकरणतर्फ समेत काम गरिरहेका छौँ,” माईती नेपालका प्रतिनिधिले बताए। संस्था अनुसार उद्धार गरिएकाहरूलाई आवश्यक परे थप सहयोग, सीपमूलक तालिम तथा परामर्श सेवा पनि उपलब्ध गराइनेछ।
Beta feature














Discussion about this post