जेठ ४ गते। प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन् । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ ।
हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकी जन्म महामहोत्सवको अवसरमा बिहान साढे ७ बजे दूधमती शाही स्थान भएको बताए । मध्याह्न १२ बजे जानकीको प्राक्टय बधाइ मंगलगान र आरती, ४ बजे मन्दिरबाट डोला निस्कने र साँझमा सन्ध्या आरती र त्यसपछि बधाइ मंगलगान हुने उनले जानकारी दिए। जानकी जन्ममहोत्सवको अवसरमा वैशाख २७ गतेदेखि मन्दिरको प्राङ्गणमा बधाइ गान, मंगलगान, सन्ध्या आरती, भजन तथा रामकथा आयोजना हुँदै आएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जानकी नवमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। जानकी नवमीमा राष्ट्रिय पर्व मनाउनुपर्ने र देशैभर सार्वजनिक विदा दिनुपर्ने जनकपुरधामका बासिन्दाको माग छ।
पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ । जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रवीन्द्रदास वैष्णव बताउछन् । पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज जताततै गुञ्जिरहेका छन् ।
मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन् । यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन् । जानकी नवमीको अवसरमा मधेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।















Discussion about this post