सप्तरी/माघ ७ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिक स्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गर्दै आफ्नो चुनावी अभियानको शुभारम्भ गरेका छन्।
सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएपछि बुधबार डाक्नेश्वरी नगरपालिका स्थित प्रसिद्ध डाक्नेश्वरी मन्दिरमा पुगेर उनले विधिपूर्वक पूजाआजा गरेका हुन्। पूजाआजापछि अध्यक्ष यादवले मन्दिर परिसरको अवलोकन गर्नुका साथै लोकआस्था र पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए।
उक्त अवसरमा पार्टीकी नेतृ रेणु कुमारी यादव, शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी बेछु साह, पार्टीका पूर्व क्षेत्रीय अध्यक्ष कमलदेव यादव लगायत पार्टीका नेता तथा समर्थकहरूको उपस्थिति रहेको थियो।
पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक तथा मतदातासँग भेंटघाट गर्ने कार्यक्रमलाई अध्यक्ष यादवले आजदेखि तीव्रता दिएको सप्तरीका चर्चित पत्रकार श्यामसुन्दर यादवले जानकारी दिए। उनका अनुसार मधेश जनविद्रोहका कमान्डर उपेन्द्र यादवसँग भेट्न स्थानीय जनता निकै उत्साहित देखिएका छन्।
चुनावी अभियान तथा मतदाता भेटघाटका क्रममा सप्तरी क्षेत्र नम्बर ३ मा सडक, शिक्षा, स्वास्थ्य तथा सिंचाइको दयनीय अवस्थाबारे स्थानीय जनताले अध्यक्ष यादवसमक्ष गुनासो पोखेका छन्। यसप्रति प्रतिक्रिया दिँदै अध्यक्ष यादवले निर्वाचनपछि उक्त क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहने र निश्चिन्त रहन मतदातालाई आश्वासन दिएका छन्।














Discussion about this post