भदौ ३० गते। नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ अब आउने असोज १३ गते अर्थात् फूलपातीका दिनदेखि प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गरेको हो।
यसअघि भदौ २७ गते रिलिज हुने तय भए पनि जेनजी आन्दोलनका कारण सो मितिमा प्रदर्शन सम्भव नभएपछि मिति सारिएको निर्माण पक्षले जनाएको छ। सेभेन सिज नेपालले विज्ञप्तिमा भनेको छ, “देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन स्थगित गर्नुपरेको हो। तर अहिलेको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर चलचित्र उद्योगलाई निरन्तर गतिशील बनाउन असोज १३ लाई नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ।”
चलचित्रका निर्माता विनोद पौडेलले प्रचारप्रसारमा खर्च भइसकेकाले लामो समयसम्म रोकिराख्नु उपयुक्त नदेखिएको बताए। उनले भने, “हामी सोचविचार गरेरै फूलपातीमा रिलिज गर्ने निर्णयमा पुगेका हौँ। कसैसँग जुध्ने हाम्रो उद्देश्य होइन। परिस्थितिले बाध्य बनाएर असोज १३ मा ल्याएको हो।”
सुशान्त गौतमद्वारा निर्देशित र मुकेश खनालले लेखेको यस चलचित्रमा कलाकार कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतको अभिनय रहेको छ।
चलचित्रको निर्माण विनोद पौडेल र गुञ्जन गिरीले गरेका हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन्।













Discussion about this post