धनुषा/चैत २ गते। मिथिला मध्यमा परिक्रमालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यलय धनुषाले मासु तथा मदिराको विक्री वितरणमा रोक लगाएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालयले चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेधित गरेको जनाएको छ । मिथिला माध्यमीकी परिक्रमा अन्तर्गत चैत ३ मा परिक्रमावासीहरु जनकपुरधाम फर्कने र चैत ४ मा अन्तः गृह परिक्रमा रहेको छ ।
त्यस्तै, होली पर्व मनाउने नाममा जथाभावी रङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि धनुषा प्रशासनले सचेत गराएको छ ।
लागुऔषध, मदिरा, भाङ तथा अन्य उत्तेजक पदार्थ खाई सवारीसाधन चलाउन, हुलहुज्जत गर्न र चर्को स्वरमा बाजा बजाउन तथा डिजे सञ्चालन गर्न समेत प्रतिबन्ध लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन ।
जिल्ला प्रशासनले जारी गरेको सूचना उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।














Discussion about this post