सजिलो पोस्ट डेस्क । मिथिलाञ्चल सहित तराईका जिल्लामा चौंठचन्द्र पर्व धार्मिक विधिपूर्वक आज मनाइँदैछ। भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने गरिएको हो।प्राचीन मिथिलाका राजा हेमाङ्गद ठाकुरले यो पर्वको शुभारम्भ गरेको विश्वास गरिन्छ। उनी ज्योतिष पनि थिए।
साँझको समयमा उदाउँदो चन्द्रमालाई पूजा अर्चना गरी चौंठचन्द्र पर्व मनाइने गरिन्छ।यो पर्वमा शुद्धताको विशेष महत्व हुने गर्दछ।चौंठचन्द्र पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत रूपमा पर्व सम्पन्न गर्छन्।
खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको यो पर्वको पूजा आँगनमै गरिन्छ।पूजा गर्नका लागि पूजास्थलमा अरुवा चामलको पीठोको कलात्मक अरिपन बनाइन्छ। सो अरिपनमाथि चन्द्रमाको आकृतिका साथै पूजा सामग्री राख्ने स्थल अङ्कित गरिएको हुन्छ।
पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइँ, नरिवल, केरा, पुरी लगायतका सामग्री राखेर पूजा गरिन्छ। चौंठचन्द्रको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन्। साँझपख स्नान गरी नयाँ बस्त्रधारण गरेर धार्मिक विधिपूर्वक पूजा सम्पन्न गर्छन्।
पूजा सम्पन्न भएपछि पूजाका सामग्री लिएर पालैपालो गरेर परिवारका सम्पूर्ण सदस्यले चन्द्रमा दर्शन परम्परा छ।चौंठचन्द्रको दिनमा स्वतः चन्द्रमाको दर्शन गरेमा मिथ्या कलंक नलाग्ने मिथिला संस्कृतिमा जनविश्वास छ।
चौठ चन्दको महत्व
चौठ चन्द पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन् । यसमा कुनै तामझाम हुँदैन् । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।”
कापडीका अनुसार सबै देवीदेवतालाइ शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ । चौठ चन्द पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई खाली हातले हेर्दा कलङ्क (पाप) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो पापबाट बच्न सकिन्छ ।
पर्वको प्रारम्भ
मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वहरुको प्रारम्भबारे प्रमाणिक रुपमा उपलब्ध हुँदैन । समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । यसबारेमा कतै अभिलेख रुपमा नपाइएपनि पुस्तान्तरदेखि हुँदै आएको छ । मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचा जस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो ।
आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ । एउटा वचन आएको छ–‘‘ काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकाले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।
चौठ चन्दको कथा
मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठ चन्दको विभिन्न प्रचलित कथा रहेको वरिष्ठ पत्रकार कापडी बताउनुहुन्छ । कापडीका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ । श्रीमद्भागवतमा एउटा कथा आएको छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरीब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृष्ट मणि प्राप्त गरेका थिए–स्यमन्तक ।
विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट यादवले प्रतिदिन २० मन सुन प्राप्त गर्थे । उनी छिटै धनाढ्य हुन पुगे । चारैतिर यो खबर फिंजियो । एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चमक्क भयो ।
Discussion about this post